पुनरावेदक/प्रतिवादीः अमृता महरा भन्ने अम्मरा देवी महराको जाहेरीले नेपाल सरकार विरुद्ध विपक्षी/वादी महेश महर (महरा) समेत मुद्दाः बहुविवाह, ने.का.प. २०७६, अंक १, पृष्ठ १३६, नि.नं. १०१७८ ।

 

 

Subscribe @ https://www.youtube.com/rakune

अधिवक्ता तहको २९ औं परीक्षाको लागि निर्धारित नजीरहरूः

कार्यविधि कानून

 पुनरावेदक/प्रतिवादीः अमृता महरा भन्ने अम्मरा देवी महराको जाहेरीले नेपाल सरकार विरुद्ध विपक्षी/वादी महेश महर (महरा) समेत मुद्दाः बहुविवाह, ने.का.प. २०७६, अंक १, पृष्ठ १३६, नि.नं. १०१७८ ।

 

विषय – बहुविवाह

 

पुनरावेदक / वादी - जिल्ला डडेलधुरा शिर्ष गा।वि।स। वडा नं।७ कटाल बस्ने अमृता महरा भन्ने अम्मरा देवी महराको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी - जिल्ला डडेलधुरा शिर्ष गा।वि।स। वडा नं।७ कटाल बस्ने महेश महर (महरा) समेत

 

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा

माननीय न्यायाधीश डा।श्री आनन्दमोहन भट्टराई

सुरू तहमा फैसला गर्ने

माननीय जिल्ला न्यायाधीश श्री यज्ञराज भट्ट

कैलाली जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने

माननीय न्यायाधीश श्री रेवन्तबहादुर कुँवर

माननीय न्यायाधीश श्री नरबहादुर शाही

पुनरावेदन अदालत, दिपायल

 

फैसला मिति २०७४।९।७

 

 

निवेदकको माग दावी

प्रतिवादी महेशकुमार महर (महरा) र मेरोबीच मिति २०६१ साल मंसिर २० गते सामाजिक परम्पराअनुसार विवाह भई हामीबाट २ छोराको जन्म भएकोमा निज श्रीमान्‌ले मिति २०७०।१२।१ गते जानकी मिश्रा महरासँग दोस्रो विवाह गरी बसेकोले कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७१।१।२३ गतेको जाहेरी दरखास्त ।

 

मिसिल संलग्न आधार प्रमाणहरूबाट प्रतिवादीमध्येका महेशकुमार महर (महरा) ले आफ्नो घरमा जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमतीको रूपमा अर्का प्रतिवादी जानकी भन्ने जयन्ती मिश्रा महर (महरा) सँग प्रेम गरी दोस्रो विवाह गरेका र निज प्रतिवादी जानकी भन्ने जयन्ती मिश्रा महर (महरा) ले प्रतिवादी महेशकुमार महर (महरा) को घरमा जेठी श्रीमती छन् भन्ने थाहा जानकारी हुँदाहुँदै कान्छी श्रीमती भई दोस्रो विवाह गरेको पुष्टि भई प्रतिवादी महेशकुमार महर (महरा) ले मुलुकी ऐन, बिहावारी महलको ९ नं। को र अर्का प्रतिवादी जानकी भन्ने जयन्ती मिश्रा महर (महरा) ले सोही महलको १० नं। बमोजिमको कसुर अपराध गरेको हुँदा निज दुवै प्रतिवादीहरूलाई सोही महलको १० नं। बमोजिम सजाय हुन मागदाबी लिइएको छ भन्नेसमेत बेहोराको अभियोग पत्र ।

सिद्धान्त

मुद्दा चलाउने हकदैया रहेको निकाय वा व्यक्तिलाई हदम्याद लाग्ने हो । कानूनमा थाहा पाएको मितिबाट हदम्याद कायम हुने गरी व्यवस्था भएको कुराको अर्थ अरू जो सुकैले थाहा पाएर हदम्याद सुरू हुँदैन, मुद्दा चलाउने अधिकार पाएको वा हकदैया रहेको व्यक्ति वा निकायले थाहा पाएको मितिबाट हदम्यादको गणना गर्नु पर्ने भन्ने नै हो । यसरी गणना गर्ने प्रचलन तथा यस अदालतबाट मुद्दाको रोहमा प्रतिपादित सिद्धान्तप्रतिकूल हुने गरी बहुविवाह मुद्दामा जेठी पत्नीले थाहा पाएको मितिबाट हदम्याद कायम हुन्छ भन्नु मनासिब नदेखिने ।

 

जिल्ला अदालतको फैसला

थाहा पाएको मितिले ३ महिनाभित्र नालिस नदिए लाग्न सक्दैन भन्ने कुरा मुलुकी ऐन बिहावारीको महलको ११ नं। मा उल्लेख भएकोमा मिति २०७१।१।२३ गते अं।१०।०० बजेको समयमा प्रतिवादी महेशकुमार महरले प्रतिवादीमध्येकी जानकी भन्ने जयन्ती महरलाई दोस्रो विवाह गरी बहुविवाहको कसुर गरेको भनी जाहेरी दिने जाहेरवाली अमृता महरा भन्ने अम्मरदेवी महरले बकपत्र गर्दा करिब १ वर्षअगाडि प्रतिवादीहरूको विवाह भएको हो भनी बकपत्र गरेको देखिँदा र प्रतिवादी जयन्ती मिश्रा महरको हाल ३ महिनाको बच्चासमेत देखिँदा अनुचित विलम्ब गरी जहिलेसुकै पनि थाहा पाएको मिति कायम गरी मुद्दा दिई कसुर अपराध कायम गराउन खोज्नु न्यायोचित नहुने र हदम्यादको सिद्धान्तसमेतको बर्खिलाप हुन जाने हुँदा प्रस्तुत अभियोग पत्र हदम्यादको अभावमा खारेज हुने ठहर्छ भनी सुरू जिल्ला अदालतले मिति २०७१।४।२१ मा गरेको फैसला ।

पुरावेदन अदालतको फैसला

मुलुकी ऐन विवाहवारी महलको ११ नं। मा, “यस महलको ७ नं। को कुरामा सो भए गरेको मितिले र अरूमा थाहा पाएको मितिले तीन महिनाभित्र नालिस नदिए लाग्न सक्दैन भन्ने कानूनी व्यवस्था रहेको कानूनले व्यवस्था गरेको हदम्यादभन्दा धेरै विलम्ब गरी जहिलेसुकै पनि थाहा पाएको मिति कायम गराई मुद्दा दिनु हदम्यादको सिद्धान्तसमेतको बर्खिलाप हुने भनी अभियोग पत्र हदम्यादको अभावमा खारेज हुने हर्छ भनी गरेको कैलाली जिल्ला अदालतको फैसला मिलेकै देखिँदा पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । यसर्थ सुरू कैलाली जिल्ला अदालतबाट मिति २०७१।४।२१ मा भएको फैसला मिलकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत दिपायलबाट मिति २०७२।०२।२७ मा भएको फैसला ।

निम्न प्रश्नहरूको सम्बन्धमा न्याय निरूपण हुनुपर्ने

() प्रस्तुत बहुविवाहको मुद्दामा जाहेरवालाले थाहा पाएको मितिबाट हदम्याद कायम हुने हो वा अनुसन्धान अधिकारीले थाहा पाएको मितिबाट हदम्याद सुरू हुने हो ?

() हदम्यादको आधारमा अभियोगपत्र खारेज गर्ने गरी सुरू कैलाली जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत दिपायलबाट भएको फैसला मिले नमिलेको के हो ?

 

 

फैसला

सरकारवादी भई चल्ने मुद्दामा अनुसन्धान गरी मुद्दा चलाउने अधिकारप्राप्त निकायले थाहा जानकारी पाएको मितिले हदम्याद सृजना हुने कुरा प्रस्ट नै छ । प्रस्तुत मुद्दामा जाहेरी दर्खास्त दर्ता भएको मिति २०७१।०१।२३ ले ३ महिनाभित्र अर्थात्‌ मिति २०७१।०२।०७ गते अभियोग पत्र दायर भएको देखिएको छ । सो मितिअगावै मुद्दा चलाउने निकाय वा अधिकारीलाई मुद्दा चलाउनु पर्ने कारण सृजना भएको (बहुविवाह गरेको) कुराको जानकारी थियो भनी देखिने कुनै मनासिब आधार खुल्न आएको देखिएन । तसर्थ प्रस्तुत मुद्दा हदम्यादभित्रै दायर भएको देखिन आयो । यस्तो अवस्थामा हदम्यादको आधारमा खारेज गर्ने गरी सुरू कैलाली जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी तथ्यभित्र प्रवेश गरी फैसला गर्नुपर्नेमा सुरू जिल्ला अदालतबाट भएको खारेजी फैसला सदर गर्ने गरी पुनरावेदन अदालत दिपायलबाट भएको फैसला कानून र यस अदालतबाट प्रतिपादित सिद्धान्तअनुकूल देखिएन ।

अत माथि उल्लिखित तथ्य, कानून र सिद्धान्तहरूसमेतको आधारबाट हदम्यादको आधारमा मुद्दा खारेज गर्ने गरी कैलाली जिल्ला अदालतबाट मिति २०७१।०४।२१ मा भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत दिपायलबाट मिति २०७२।०२।२७ मा भएको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला उल्टी  हुन्छ । अब प्रस्तुत मुद्दाको तथ्यमा प्रवेश गरी जो जो प्रमाण बुझ्नु पर्छ बुझी प्रमाणको न्यायोचित मूल्याङ्कन गरी कानूनबमोजिम पुनस् इन्साफ गर्नु भनी मिसिलसहित तारेखमा रहेका प्रतिवादीहरूलाई तारेख तोकी उच्च अदालत दिपायलमा लेखी पठाई दिने ठहर्छ ।

 Subscribe @ https://www.youtube.com/rakune

No comments:

Post a Comment