शिवपुजन यादव अहिर समेत, मुद्धा कर्तव्य ज्यान, ने.का.प. २०७५, अंक ९, पृष्ठ १६६४, नि.नं. १००८८ । साराश‌ं

अधिवक्ता तहको २८ औं परीक्षा २०७६ का लागि निर्धारीत नजीर फौजदारी कानून अन्तर्गतको मुद्धा कर्तव्य ज्यान

पुनरावदेक÷प्रतिवादी- रामदेव कुर्मीको जाहेरीले नेपाल सरकार

विरुद्ध

विपक्षी÷वादी - शिवपुजन यादव अहिर समेत, मुद्धा कर्तव्य ज्यान, ने.का.प. २०७५, अंक ९, पृष्ठ १६६४, नि.नं. १००८८ ।

मुद्धा-कर्तव्य ज्यान

 जाहेरी

मेरो वर्ष १७ को छोरा राजकुमार कुर्मी मिति २०६०।११।१३ मा घरबाट गएकोमा फर्की नआएकोले खोज्दै जाँदा हरिहरपुर गा.वि.स.वडा नं.२ अमहवाको सोहिया नालामा मृत अवस्थामा फेला परेको हुँदा कानूनबमोजिम गरिपाउँ भनी रामदेव कुर्मीको जाहेरीले नेपाल सरकार


अभियोग मागदावी

मिसिल संलग्न जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, शव परीक्षण प्रतिवेदन, पक्राउ परेका प्रतिवादीहरूले गरिदिएको कागज बेहोरासमेतका आधार प्रमाणबाट मिति २०६०।११।१३ को राति प्रतिवादीहरूको घरमा आएका मृतक राजकुमार कुर्मीलाई प्रतिवादीहरू मिली आफ्नै घरमा कर्तव्य गरी मारी सोइया नालामा लगी घाँटी काटी फालेको देखिन आएकोले निज प्रतिवादीहरू रामवरण यादव अहिर, शिव पुजन यादव अहिर, सन्तराम यादव अहिर, शान्ती यादव अहिर र मन्जु यादव अहिरलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १ नं.को कसुरमा सोही महलको १३(१) बमोजिम सजाय गरिपाउँ भन्‍नेसमेतको अभियोग मागदाबी । 

 





जिल्ला अदालत कपिलवस्तुको फैसला

यी प्रतिवादीहरू मिली राजकुमार कुर्मीलाई मारी काटी फालेको अवस्थामा लास पाइएकोबाट यी प्रतिवादीहरू कर्तव्यवाला देखिएकोले आरोपित कसुर अपराध गरेको पुष्टि हुँदा निज प्रतिवादीहरू शिवपुजन यादव अहिर र रामवरण यादव अहिरलाई ज्यानसम्बन्धी महलको १३(१) अनुसार सर्वस्वसहित जन्मकैद सजाय हुने ठहर्छ । घटना, परिस्थिति समयसमेतलाई मध्यनजर गर्दा निज प्रतिवादीहरूलाई उक्त सजाय गर्दा चर्को पर्ने देखेकाले अ.बं.१८८ नं.बमोजिम कैद वर्ष ८ मात्र सजाय हुन राय व्यक्त गरिएको छ । साथै फरार प्रतिवादीहरू सन्तराम यादव अहिर, मन्जु यादव अहिर र शान्ती यादव अहिरको हकमा अ.बं.१९० नं.बमोजिम मुल्तबी राखी दिने ठहर्छ

कानून पत्रिका

पुनरावेदन अदालत बुटवलको फैसला

प्रतिवादीहरू अनुसन्धान अधिकारी तथा अदालतमा समेत कसुरमा इन्कार रही बयान गरेको, निजहरूले नै कसुर गरेको भन्‍ने कुराको प्रत्यक्षदर्शी गवाह तथा तथ्ययुक्त प्रमाण नभएको, प्रतिवादीहरूको घरबाट बरामद भएको कछाड र धोतीको वैज्ञानिक परीक्षण हुन नसकेको र जाहेरवालाको बकपत्रसमेतबाट प्रतिवादीहरूसँग राजकुमार कुर्मीलाई मार्नेसम्मको रिसइवी थियो भनी नखुलेको अवस्थामा शंकाको भरमा प्रतिवादीहरूलाई कसुरदार ठहर्‍याएको कपिलवस्तु जिल्ला अदालतको मिति २०६७।११।३० को फैसला नमिलेकोले उल्टी भई प्रतिवादीहरू शिवपुजन यादव अहिर र रामवरण यादव अहिरले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ

 

सिद्धान्त

फौजदारी मुद्दामा अभियुक्तउपर लगाएको अभियोग शंकारहित तवरबाट पुष्टि गर्न आवश्यक प्रमाणको संकलन एवं प्रस्तुतीकरण गर्ने जिम्मेवारी वादी पक्षमा निहित रहेको हुन्छ । अनुमान र शंकाको भरमा कर्तव्य ज्यान जस्तो कसुर अपराधमा कसैलाई दोषी ठहराउन मिल्दैन । अनुसन्धान तहकिकातबाट यही व्यक्ति अपराधी हो भनी पहिचान भई निज विरूद्ध संकलित सबुद प्रमाणहरूलाई अदालतसमक्ष प्रस्तुत गरी अदालतबाट त्यस्ता प्रमाणहरू परीक्षण भएपश्‍चात् शंकारहित तवरले कसुर पुष्टि हुने अवस्थामा मात्र त्यस्तो व्यक्तिलाई कसुरदार घोषित गरी सजाय गर्न मिल्ने ।

फैसला

 प्रस्तुत मुद्दामा बरामद भएको उक्त धोती र कछाडमा लागेको रगत कसको हो भनी परीक्षण भएको एकातिर देखिँदैन भने अर्कोतर्फ सो बरामद भएका सामानहरू प्रतिवादीहरूबाट सनाखत गराएको अवस्थासमेत देखिँदैन । फौजदारी मुद्दामा कुनैपनि व्यक्तिलाई कसुरदार घोषित गर्न निजउपर लगाइएको अभियोग प्रमाणहरूबाट पुष्टि हुनुपर्छ भन्‍ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्तसमेत रहेको परिप्रेक्ष्यमा प्रस्तुत मुद्दामा प्रतिवादीहरूले अभियोग दाबीबमोजिमको कसुर गरेको भन्‍ने कुरा पुष्टि हुन सकेको नदेखिँदा प्रमाणको विवेचना गरी अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याएको पुनरावदेन अदालतको फैसला मिलेको देखियो । 

तसर्थ, माथि विवेचित आधार र कारणहरूबाट शंकाको भरमा प्रतिवादीहरूलाई कसुरदार ठहर्‍याएको कपिलवस्तु जिल्ला अदालतको मिति २०६७।११।३० को फैसला उल्टी भई प्रतिवादीहरू शिवपुजन यादव अहिर र रामवरण यादव अहिरले अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याएको पुनरावेदन अदालत बुटवलको मिति २०६८।११।१४ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन

  Subscribe @ https://www.youtube.com/rakune




सून्य अवधि (Zero Period)

सून्य अवधि

मिति २०७७ जेष्ठ १५ गतेको सर्वोच्च अदालतको वृहत पूर्ण इजलासले कोभिड–१९ कारणबाट उत्पन्न कठिनाई, अप्ठ्यारो, र असहजतालाई उचित रुपमा सम्वोधन गरी व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको र आईपर्न सक्ने महामारी गम्भीर संकटको अवस्थालाई विचार गरी मिति २०७६ चैत्र ९ गते देखि बन्दाबन्दी खुलेको अवधिलाई न्यायिक काम कारवाही प्रयोजनका लागि सून्य अवधि मान्ने गरी आदेश जारी गरेको छ ।

सर्वोच्च अदालत, मुद्धा तथा रिट महाशाखाको प्रतिवेदन र अधिवक्ता टिकाराम भट्टराई वारेस भई अधिवक्ता महेश्वर श्रेष्ठ निवेदक रहेको बन्दाबन्दीको अवधिमा हदम्याद, म्याद, तारेख, लगायतका बिषयमा गरेको अड्बडको निकासा पाउँ भन्ने रिट उपर सर्वोच्च अदालतले उक्त आदेश जारी गरेको हो ।

उक्त आदेश अनुसार सून्य अवधिलाई हदम्याद, म्याद, तारिख, वा यस्तैअदालतमा वा कुनै न्यायिक वा अर्ध न्यायिक निकायमा प्रस्तुत गर्नुपर्ने फिरादपत्र, प्रतिउत्तरपत्र, अभियोगपत्र पुनरावेदनपत्र, कुनै खास म्याद वा अवधिमा दिनुपर्ने भनी किटान गरिएको निवेदन, लिखित जवाफ फैसला कार्यान्वयनका लागी दिने निवेदन आदि सवै प्रकारका कानूनी काम कारवाही प्रयोजनका लागि गणना नहुने भएको छ । साथै उक्त अवधिमा तारिख गुज्रिएकाहरुको हकमा बन्दाबन्दि खुलेको मितिले बाटोको म्याद वाहेक ३० दिन दिनभित्र तारिख नगुज्रिएको मानि कारवाही हुने भन्ने व्यवस्था भएको छ ।



उक्त आदेश बमोजिम देवानी, फौजदारी, रिट निवेदन लगायत सवै प्रकारका न्यायिक तथा अर्ध न्यायिक निकायवाट हेरिने कानूनी विवादमा यो प्रदान सुविधा प्रदान गरीने भएको छ भने फौजदारी मुद्धामा पक्राउ गरिएको व्यक्तिलाई वाटोको म्याद वाहेक २४ घण्टा भित्र मुद्धा हेर्ने अधिकारी समक्ष उपस्थित गराउने निजको अनुमतिले मात्र थुनामा खाख्न सकिने, कानूनमा तोकिए बमोजिम हिरासतमा राख्ने लगायतमा कुराहरुमा भने यस आदेशले प्रतिकुल असर नपार्ने भन्ने आदेश रहेको छ ।
अदालतले उक्त मुद्धामा वहसकोलागि अदालतको सहयोगी (Amicus Curiae) पनि वोलाएको थियो ।

संविधान र संविधानवाद (Constitution and Constitutionalism)





संविधान र संविधानवाद

संविधान
संविधानले राज्यका सम्पुर्ण अंगहरुलाई परिभाषित गर्दछ । ती अंगहरु विचको सम्वन्धका साथै काम, कर्तव्य र अधिकार व्याख्या गरिएको सिद्धान्तहरुको संग्रह हो संविधान । जसले चलायमान राज्य सञ्चालनका निम्ती परिभाषित कानूनी विधी तथा प्रणालीको लागि मार्गदर्शन र व्यवस्थापन गर्दछ । 

संविधान राज्यको अनिवार्य मुल कानून हो । जसले कानूनी राज्य शासन सञ्चालनका निम्ती राज्यको विभिन्न संरचनाको रुपरेखा निर्धारण गर्छ । यो राज्य शक्तिको बाँडफाँड, नियन्त्रण र सन्तुलनको खाका निर्माण गरीएको राजनैतिक, सामाजिक, सांस्कृतिक एंव आर्थिक दस्तावेज हो । संविधानले निर्धारण गरेको परिधि भित्र राज्यका अरु कानूनको विकाश हन्छ र संविधानसंग बाझिएको कानूनको वैधानिक अस्तित्व रहदैन । संविधानले राज्य र नागरीकको अधिकार र सार्वभौमसत्ता एवं त्यसको अभ्यासलाई परिभाषित गर्दछ । यसले सरकारको काम कारवाहीलाई वैधानिकता प्रदान गर्नुका साथै सरकारको स्वेच्छाचारितालाई सीमित गर्दछ ।





संविधानको सामान्य विशेषता 
  • संविधान राज्यको शासन व्यवस्था संचान गर्ने वडापत्र हो ।
  • नागरिकको हक, अधिकार एवं कर्तव्यको व्यवस्था गर्दछ । 
  • संविधानले सार्वभौम शक्ति कहाँ निहित रहने भन्ने व्यवस्था गर्दछ ।
  • संविधानले राज्यका अंगहरुको विभाजन, शक्ति वाँडफाड र सन्तुलनका लागि आवश्यक व्यवस्था गर्दछ ।
  • यो राज्यको मुल कानुन हो । यसले राज्य र जनता विचको सम्वन्ध स्थापना गर्दछ ।
संविधानवाद
संविधान, ऐन, नियम कानून अनुसार राज्य सञ्चालन हुनुपर्छ भन्ने सिद्धान्त नै संविधानवाद हो । संविधानवाद कानुनी शासन, सिमित सरकार, राज्यका अंगहरु विचको शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको अवधारणा हो । संविधानवाद एक आदर्श हो जसले जनता प्रति उत्तरदायी लोकतान्त्रिक राज्यको सुनिश्चितता गर्दछ ।
संविधानवाद एक विचारधारा हो जसमा राज्यका नागरिकहरुको भावना, विचार, दृष्टिकोेण, विश्वास र व्यवहारको प्रतिनिधित्व भएको हुन्छ । राज्यमा नागरिकहरुको हक र हक प्रचलनार्थ कानूनी र न्यायिक व्यवस्थाको वारेमा सैदान्तिक विचार व्यक्त गर्दछ । राज्यका सवै अंगहरु आफ्नो अधिकार प्रयोग गर्दा परिधि भित्र रही उपभोग गर्नुपर्दछ । यसले समता मुलक समाजको लागि राज्यको स्वोच्छाकारीता र निरंकुशतालाई अस्विकार गर्दछ । संविधानवादको मान्यता कानूनको सर्बोच्चता हो । राज्य आफ्नो नियम कानून अनुसार चल्नुपर्छ र कानून भित्र अधिकार,न्याय, स्वतन्त्रता, समानता हुनुपर्छ भन्ने मान्यता संविधानवादको हुन्छ । संक्षेपमा संविधानवाद आदर्श राज्यको न्यनतम आवश्यकता हो । जुन सकारात्मक परिर्वतनको लागि तयार रहन्छ भन्ने मान्यता रहन्छ ।

संविधानवादको आधारभुत तत्व
संविधानवाद राजनैतिक, कानुनी, आर्थिक र सामाजिक र सांस्कृतिक  गरी मुलत ४  प्रकारहरु रहेका छन् । यी प्रकारका आधारमा संविधानवाद भित्र निम्न तत्वहरु रहेका हुन्छन् ।

१. सरकारको सिमित अधिकार
२. शक्ति पृथकीकरण, नियन्त्रण तथा सन्तुलन
३. संवैधानिक सर्वोच्चता
४. कानुनी शासन
५. जनता प्रति उत्तरदायी एवं जवाफदेही सरकार
६. लोकतन्त्र, आवधिक निर्वाचन र सहभागिता मुलक शासन 
७. नागरिकको मौलिक हक एवं मानव अधिकारको संरक्षण
८. सक्षम तथा स्वतन्त्र, न्यायिक पुनरावलोकन सहितको न्याय पालिका
९‌‍. प्रेस स्वतन्त्रता

संविधान र संविधानवाद
  • संविधान संविधानवाद प्राप्त गर्ने माध्यम हो । यो कानूनहरुको पनि कानून हो भने संविधानवाद एक विचारधारा हो जसमा राज्यका नागरिकहरुको भावना, विचार, दृष्टिकोेण, विश्वास र व्यवहारको प्रतिनिधित्व हुन्छ ।
  • संविधानवादले उद्देश्य निर्धारण गर्दछ भने संविधान उक्त उद्देश्य प्राप्तीको माध्यम बन्छ । संविधानवाद एक आदर्श राज्य मार्गको सिद्धान्त हो । संविधान सिद्धान्तहरुको संग्रह हो ।
  • राज्यमा संविधान विना पनि संविधानवादको प्रयोग हुन सक्छ । जस्तै वेलायत जँहा लिखित संविधान छैन र पनि संविधानवादको प्रयोग भएको छ । तर संविधानवाद विनाको संविधानको अर्थ रहदैन । जस्तै उत्तर कोरीया अथवा हिटलरकालिन जर्मनी जहाँ संविधान भएता पनि संविधानवादको अभावमा आर्दश राज्य सञ्चालन भएको छैन वा थिएन ।
नेपालको संविधान २०७२ को विशेषता
  • ३५ भाग, धारा ३०८, अनुसूचि ९ रहकोे नेपालको संविधानलाई संघिय संसदको दुई तिहाइ बहुमतद्धारा संसोधन गर्न सकिने ।
  • संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री रहने संसदीय शासन प्रणाली ।
  • सरकारलाई स्थिर राख्न सुरुको दुई वर्ष सम्म अविश्वासको प्रस्ताव ल्याउन नपाईने । प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने
  • संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना, सार्वभौम र राजकीय सत्ता जनतामा निहित
  • संघमा दुई सदनात्मक संघीय संसद । संसदमा समावेशी प्रतिनिधित्व । प्रतिनिधिसभामा मिश्रित निर्वाचन प्रणाली । राष्ट्रियसभामा सात प्रदेशबाट निर्वा्चित हुने ।
  • प्रदेशमा एक सदनात्मक संसद । संसदमा समावेशी प्रतिनिधित्व । मिश्रित निर्वाचन प्रणाली ।
  • प्रदेशमा प्रदेश संसदबाट निर्वा्चित मुख्यमन्त्री, राष्ट्रपतिबाट नियुक्त प्रदेश प्रमुख
  • केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद्, प्रादेशिक संसदको २० प्रतिशतमा नबढ्ने गरी प्रान्तीय मन्त्रिपरिषद ।
  • संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र विभाजन
  • धर्मनिरपक्षता, मौलिक हक सम्वन्धी वृहत व्यवस्था, सकारात्मक विभेद वा आरक्षण सम्वन्धी व्यवस्था
  • केन्द्रमा सर्वोच्च अदालत, सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने, प्रदेशमा उच्च अदालत   जिल्लाको सदरमुकाममा जिल्ला अदालत रहने
  •  आमा वा बाबुको नामबाट वंशजको नागरिकता
  • मधेसी, थारू, मुस्लिम, आदिवासी जनजातिका लागि छुट्टाछुट्टै आयोग,  सबै मातृभाषा राष्ट्रभाषा, सरकारी कामकाजको भाषाको देवनागरिक लिपिमा नेपाली
  • जिल्ला प्रशासनिक इकाईका रूपमा रहने,  जिल्लामा निर्वाचित जिल्ला सभा रहने
रामकुमार नेपाल
२०७७ जेष्ठ १२




Writs रिट



रिट 

रिट भनेको कुनै विषयमा उच्च न्यायिक निकायले कुनै काम गर्न वा नगर्नका लागि कुनै व्यक्ति वा निकायलाई दिइने विशेषाधिकारयुक्त्त ‌(प्राचिन समयमा राजावाट हुने) आदेश हो । न्याय सम्पादन आफ्नो आधिकार क्षेत्रभित्र रही बैधानिक रूपमा गर्नुपर्दछ भनि आधिकार प्राप्त अधिकारी वा निकायले तल्ल्नो निकाय वा अधिकारीलाई गर्ने निर्देशन हो । यसले न्याय सम्पादनलाई बैधानिक र उचित बनाउदछ । 

रिटको सुरुवात वेलायतवाट भएको ईतिहास देख्न पाईन्छ भने नेपालमा पहिलो पटक व्यक्तिगत स्वतन्त्रता ऐन २००६ मा व्यवस्था भएको थियो ।हाल नेपालको संविधान २०७२ को धारा १३३ र १४४ मा व्यवस्था भएको छ ।धारा १३३ अनुसार सर्वोच्च अदालतको रिट सम्वन्धि क्षेत्राधिकार भित्र न्यायिक र समान्य पुनरावलोकन पर्दछ । ऐन कानून संविधान सम्मत छ छैन जांच गर्ने वदर गर्ने न्यायिक पुनरावलोकन हो भने अदालत आफैले गरेके फौसला आदेश आदिको जांच गर्ने समान्य पुनरावलोकन हो ।त्यसै गरी धारा १४४ अनुसार उच्च अदालतलाई पनि रिट सम्वन्धि क्षेत्राधिकार प्राप्त भएको छ । 

नेपालको संविधान २०७२ को धारा १३३ मा सर्वोच्च अदालतको अधिकार क्षेत्रको वारेमा देहाय बमोजिम उल्लेख भएको छ । 

“(१) यस संविधानद्वारा प्रदत्त मौलिक हक उपर अनुचित बन्देज लगाइएको वा अन्य कुनै कारणले कुनै कानून यो संविधानसँग बाझिएको हुँदा त्यस्तो कानून वा त्यसको कुनै भाग वा प्रदेश सभाले बनाएको कुनै कानून संघीय संसदले बनाएको कुनै कानूनसँग बाझिएको वा नगर सभा वा गाउँ सभाले बनाएको कुनै कानून संघीय संसद वा प्रदेश सभाले बनाएको कुनै कानूनसँग बाझिएको हुँदा त्यस्तो कानून वा त्यसको कुनै भाग बदर घोषित गरी पाऊँ भनी कुनै पनि नेपाली नागरिकले सर्वोच्च अदालतमा निवेदन दिन सक्नेछ र सो अनुसार कुनै कानून बाझिएको देखिएमा सो कानूनलाई प्रारम्भदेखि नै वा निर्णय भएको मितिदेखि अमान्य र बदर घोषित गर्ने असाधारण अधिकार सर्वोच्च अदालतलाई हुनेछ । 

(२) यस संविधानद्वारा प्रदत्त मौलिक हकको प्रचलनका लागि वा अर्को उपचारको व्यवस्था नभएको वा अर्को उपचारको व्यवस्था भए पनि त्यस्तो उपचार अपर्याप्त वा प्रभावहीन देखिएको अन्य कुनै कानूनी हकको प्रचलनका लागि वा सार्वजनिक हक वा सरोकारको कुनै विवादमा समावेश भएको कुनै संवैधानिक वा कानूनी प्रश्नको निरूपणका लागि आवश्यक र उपयुक्त आदेश जारी गर्ने, उचित उपचार प्रदान गर्ने, त्यस्तो हकको प्रचलन गराउने वा विवाद टुंगो लगाउने असाधारण अधिकार सर्वोच्च अदालतलाई हुनेछ । 


(३) उपधारा (२) बमोजिमको असाधारण अधिकार क्षेत्र अन्तर्गत सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध, अधिकारपृच्छा लगायत अन्य उपयुक्त आदेश जारी गर्न सक्नेछ ।”



त्यसै गरी संविधानको धारा १४४ मा उच्च अदालतको अधिकार क्षेत्रको वारेमा उल्लेख भएको छ । 


“(१) यस संविधानद्वारा प्रदत्त मौलिक हकको प्रचलनका लागि वा अर्को उपचारको व्यवस्था नभएको वा अर्को उपचारको व्यवस्था भए पनि सो उपचार अपर्याप्त वा प्रभावहीन देखिएको अन्य कुनै कानूनी हकको प्रचलनका लागि वा सार्वजनिक हक वा सरोकारको कुनै विवादमा समावेश भएको कुनै कानूनी प्रश्नको निरूपणका लागि आवश्यक र उपयुक्त आदेश जारी गर्ने अधिकार उच्च अदालतलाई हुनेछ । (२) उपधारा (१) को प्रयोजनका लागि उच्च अदालतले बन्दीप्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध, अधिकारपृच्छा लगायत जुनसुकै उपयुक्त आदेश जारी गर्न सक्नेछ ।”


नेपालको संबिधानले रिटलाई सर्वोच्च अदालतको असाधारण क्षेत्राधिकार मानेको छ जसमा के कस्तो अबस्थामा सर्वोच्च अदालतले रिट जारी गर्न सक्दछ भन्ने ब्यबस्था गरिएको छ । त्यसै गरी संविधानले उच्च अदालतलाई पनि रिट जारी गर्न सक्न्ने व्यवस्था रहेको छ । परिस्थिति र उपलब्धता हेरी सर्वोच्च र उच्च अदालतबाट सामान्यतया देहाय बमोजिम कार्यका लागि रिट जारी हुन्छ । 

संबिधान प्रदत्त मौलिक हकको प्रचलनार्थ,
बैकल्पिक उपचारको व्यवस्था नभएमा,
अन्य उपचारको व्यवस्था प्रभावहीन भएमा र 
सार्बजनिक हक वा सरोकारको बिबादमा समाबेश भएको कुनै सबैधानिक वा कानुनी प्रश्न निरुपण गर्नका लागि ।



नेपालको संबिधानमा देहाय बमोजिमका रिटको व्यवस्था रहेको छ । 

(१) बन्दि प्रत्यक्षीकरण 

बन्दि प्रत्यक्षीकरण रिट मार्फत अदालतले कुनै पनि व्यक्ति जसलाई हिरासतमा वा जेलमा राखिएको उक्त व्यक्तिलाई शारीरिक रूपमा अदालतमा पेश गराउन सक्छ । अदालतले उसको हिरासतको कारण जाँच्दछ र यदि पक्राउ गर्ने कानुनी औचित्य छैन भने ऊ मुक्त हुन सक्छ । गैर कानूनी रुपमा गिरफ्तार भएको वा थुनिएको व्यक्त्ति वा निजको तर्फबाट जो सुकैले बन्दीप्रत्क्षीकरणको आदेशको लागि तीनवटै अदालतमा उजुरी दिन सक्छन । यो मनमानी नजरबन्द विरुद्ध व्यक्तिगत स्वतन्त्रता को एक महत्वपूर्ण उपचारको विधि हो । 

बन्दीप्रत्यक्षीकरणको निवेदनपत्रमा देहायका कुराहरू स्पष्ट रूपले खुलाएको हुनु पर्छः– 

(क) बन्दीलाई कसले वा कहिलेदेखि र कुन परिवन्दबाट बन्दी बनाएको हो ? 

(ख) बन्दीलाई अन्न पानी बन्द गरिएको छ छैन ? 

(ग) बन्दी कुन स्थानमा थुनामा रहेको छ ? 

(घ) थुनाको सम्बन्धमा पहिले वा अन्य कुनै अदालतमा निवेदन दिएको छ छैन ? भए त्यसको परिणाम के भएको छ ? 

बन्दी प्रत्यक्षीकरणको आदेश भन्नाले गैरकानुनी रुपमा थुनामा बन्दी रहेको व्यक्तिलाई छोड्न दिइने आदेश हो । 

(२) परमादेश

यो कानुन बमोजिम गर्नु गराउनु भनी दिइने आदेश हो ।अर्थात परमादेश भन्नाले सार्वजनिक कार्य सम्पादन गर्ने तल्लो सार्वजनिक अधिकारी, प्रशासनिक निकाय वा अदालत वा पदाधिकारीका नाममा माथिल्लो अदालतले कुनै काम कर्तव्य गर्नु भनेर दिइएको आदेश भन्ने बुझिन्छ । जुन कर्तव्य पूरा गर्न सवन्धित निकायले अस्वीकार वा ढिलासुस्ती वा बेवास्ता गरेका हुन्छन् वा गर्नेछन् भन्ने अवस्था सिर्जना भएको हुन्छ । यसले निदाउने अधिकारीहरूलाई आफ्नो कर्तव्य पूरा गर्न जगाउँदछ। परमादेशलार्इ ल्याटिन भाषामा Mandamus भनिन्छ, यसको शाब्दिक अर्थ "हामी आदेश दिन्छौं" भन्ने हुन्छ । परमादेशको कार्यक्षेत्र जतिसुकै फराकिलो भएपनि यसको उद्देश्य कुनै खास काम गर्नका लागि आदेश दिने भएकोले त्यही आदेशको परिधीसम्म मात्र सिमित हुन्छ । वास्तवमा क्षेत्राधिकार नभर्इ वा भएको अधिकारभन्दा बढी अधिकार प्रयोग गरी काम गरेको अवस्थामा परमादेश जारी हुन्छ । परमादेशले भइसकेको निर्णय खारेज गर्दैन साथै यो तल्लो अदालत वा निकायका विरूद्धको पुनरावेदन पनि होइन ।परमादेशका रिटको निवेदन कुनै पनि व्यक्ति द्वारा पेश गर्न सकिन्छ निवेदक संग उक्त विषयमा वास्तविक वा विशेष चासो हुनुपर्दछ र यसो गर्न कानूनी अधिकार हुनुपर्दछ। 

(३) उत्प्रेषण 

कानुन बिपरित भइसकेको कामलाई बदर गर्न दिइने आदेश उत्प्रेषणको आदेश हो ।अर्थात उत्प्रेषण भनेको computer को भाषा अनुसार delete हो । जसले गरिसकेको वा भईसकेको कार्यलाई खारेज वा वदर गर्दछ जुन अदालतको नजरमा गैरकानूनी वा क्षेत्राधिकार भन्दा बाहिर गई भएको निर्णय वा विषय हुन्छ । 

उत्प्रेषण सार्वजनिक पद धारण गर्ने अधिकारी वा निकायका नाममा जारी गरिन्छ । आफ्नो क्षेत्राधिकार नाघेर वा क्षेत्राधिकार नभर्इ कुनै प्रशासनिक वा अर्धन्यायिक वा तल्लो न्यायिक निकायले गरेको निर्णय गैरकानुनी र बदरभागी भएमा उत्प्रेषणद्वारा त्यस्तो निर्णय बदर गरिन्छ । वास्तवमा निर्णय गर्दा कानुनमा तोकिएको कार्यविधि पालन भएको छैन भने अथवा निर्णय गर्ने अधिकारीले बदनियत राखी निर्णय गरेमा उक्त निर्णय त्रुटिपूर्ण छ भन्नेकुरा सम्बन्धित मिसिलबाट देखिएमा पनि उत्प्रेषणको रिट जारी हुन्छ । 

(४) प्रतिषेध 

प्रतिषेध (अङ्ग्रेजी : writ of prohibition) भनेको न्यायिक वा अर्धन्यायिक निकायले अधिकार क्षेत्रभन्दा बढी अधिकार प्रयोग गरी वा कानुन नाघेर कुनै काम कारवाही गर्न लागेमा त्यस्तो नगर्नु भनी माथिल्लो न्यायिक निकायले दिने आदेश हो । अर्थात कानुन बिपरित भइरहेको वा हुन लागेको कामलाई रोक्न दिइने आदेश हो । 

यसले सार्वजनिक पद धारण गर्ने अधिकारी वा निकायले कारणवश गैरकानुनी निर्णय गर्न लागेमा त्यस्तो गर्नबाट रोक्छ । सरल अर्थमा प्रतिषेध जारी गरेर गैरकानुनी काम हुनबाट रोक्न सकिन्छ । प्रतिषेधको आदेश स्थायी प्रकारको हुन्छ । प्रशासनिक, अर्धन्यायिक वा तल्लो न्यायिक निकायले कार्य सम्पादन गर्ने क्रममा गैरकानुनी निर्णय गरेमा वा कार्यक्षेत्र भन्दा वाहिर गई निर्णय गरेमा वा प्राकृतिक न्यायको नियमको बिरूद्धमा गई कार्य गरेमा त्यसलार्इ रोक्न माथिल्लो अदालतले जारी गर्ने रिट हो । समर्गमा भन्दा कानुन बिपरित भइरहेको वा हुन लागेको कामलाई रोक्न दिइने आदेश प्रतिषेध हो । 

(५) अधिकारपृच्छा 

सामान्यतया कानुन बिपरित पदमा बहाल रहेको व्यक्तिलाई पदमुक्त गर्न दिइने आदेश अधिकार पृच्छा हो। यो एक व्यक्तिलाई सार्वजनिक पद धारण गर्नबाट रोक्नको लागी जारी गरिएको रिट हो जसको लागि उक्त व्यक्त्ति कानूनी रुपमा योग्य छैन। कुनै न्यायिक वा अर्धन्यायिक निकाय वा कुनै सार्वजनिक अधिकार पाएको व्यक्तिले अधिकार क्षेत्रको अभावमा कुनै काम कारवाही वा निर्णय गरेमा त्यस्तो काम वा निर्णय गर्ने अधिकार कसरी प्राप्त भयो र कुन कानुन अन्तर्गत त्यस्तो गरियो भनी जवाफ माग गरी जारी भएको रिटलार्इ बुझिन्छ । अनधिकृतरूपमा कसैको अधिकार स्वतन्त्रता वा पद खोसिएमा पीडित पक्षले यस्तो रिटको माग गर्छ । प्राकृतिक न्यायको सिद्धान्त विपरीत निर्णय भएमा भएमा पनि अदालतले यो रिट जारी गर्छ ।